कम्युनिष्ट शक्तिको लागि अत्यन्तै उर्बर भूमि मानिएको नेपालमा कम्युनिष्टबीचको आपसी टुटफुट र विग्रहको कारण नेपालको समाजवादी आन्दोलनले संकटको सामना गर्दै आएको छ । २०१५ सालमा जम्मा चार सीटबाट जीतको सुरुवात गरेको कम्युनिष्ट शक्ति २०७४ सालसम्म आउँदा झन्डै १७४ अर्थात करिव ६३ प्रतिशत स्थानमा विजय हासिल गर्ने चरणमा आइपुग्यो । स्वाभाविक रुपमा गरिखाने तथा मेहनतकस वर्गको हित र उत्थानको नारा र दर्शन बोकेर विश्वभर सञ्चालित कम्युनिष्ट आन्दोलनको प्रभाव नेपालमा पनि पर्दै जानु अनौठो विषय भएन ।
उन्नाइसौं शताब्दीबाट सुरु भएको कम्युनिष्ट आन्दोलनले बीसौं शताब्दीको अन्तिम चरणमा आउँदा विश्वव्यापी संकटको सामना गर्नुपर्यो । सन् १९१७ मा तत्कालीन सोभियत संघबाट विश्व राजनीतिमा उदाएको कम्युनिष्ट शक्तिले सन् १९४५ देखि १९९० सम्म करिब ४५ वर्ष चरम शीतयुद्धको सामना गर्दै अघि बढ्यो । अन्तमा सोभियत संघको आफ्नै आन्तरिक कमजोरी, उसको चरम आर्थिक संकट र पूँजीवादी शक्तिको विश्वव्यापी घेराबन्दीको कारण पूर्वसोभियत संघको समाजवादले नब्बेको दशकमा ठूलो धक्का व्यहोर्न पुग्यो ।