सरकारले संघीय र प्रदेश तहको निर्वाचन घोषणा गरेसँगै राजनीतिक दलहरुको बीचमा देखिने र नदेखिने गरी अनेकौं वार्तालाप भैरहेको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही हप्ता पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट गएर भेट्नुभयो । दुई नेताबीच सम्भावित वाम तालमेलको विषयमा कुरा भएको सञ्चारमाध्यममा फैलियो । दुवै पार्टीका दोस्रो तहका नेताहरुबीच पनि वाम तालमेलको विषयमा अनौपचारिक कुराकानी हुने गरेको पनि सञ्चारमाध्यमहरुमा आएका छन् ।
अर्कातिर नेकपा एमालेविरुद्धको गठजोड थप कसिलो बनाउँदै लागेको छ सत्ता गठबन्धनले । बाबुराम भट्टराई, वामदेव गौतम र लोकतान्त्रिक समाजवादी पार्टीसमेत सत्ता गठबन्धनमा थपिएर एमालेविरुद्धको घेराबन्दी थप मजबुत बनाउँदै लगेको देखिन्छ ।