नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केही साताअघि आफ्नो दशौं महाधिवेशन सम्पन्न गरेको छ । नेपालका अन्य दलहरुलाई चकित पार्दै सम्पन्न गरेको एमालेको यस महाधिवेशनले केही निश्चित विशिष्ट विशेषता अभिव्यक्त गरेको छ, जसले एमालेलाई परिवर्तित परिस्थितिमा थप विकास र विस्तार गर्दै लैजानेछ । नेपालको कम्युनिस्ट आन्दोलनको नेताको रुपमा अझै सशक्त ढंगमा अगाडि बढ्नेछ ।
लामो शितयुद्ध कालपछि भएको पूर्व सोभियत संघको विघटनले संसारको कम्युनिस्ट आन्दोलनमा विचलन ल्यायो । ‘सोभियत ब्लक’ भनेर चिनिने ‘मध्य र पूर्वी यूरोप, पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका समाजवादी राज्यहरू’मा कम्युनिस्ट विचारप्रति परिस्थितिजन्य विचलन आयो ।
पूर्व सोभियत संघको विघटनसंगै अन्य कम्युनिस्ट मुलुकहरु पनि एकपछि अर्को गर्दै ढल्दै गए । सन् १९९० को दशकमा संसारबाट कम्युनिस्ट अभियान सकियो भनेर ‘क्यापिटालिष्ट ब्लक’ले उत्सव मनाइरहँदा ‘अब एउटा इतिहासको अन्त्य भयो र संसार अब कम्युनिस्ट शासनबाट मुक्त भयो’ भनेर एक ध्रुवीय विश्वको बहस तीव्र बन्यो ।